Seo Services

प्राेजेक्ट बेस्ड लर्निङः थोरै पढाइ अनि धेरै सिकाइ

 प्रोजेक्ट बेस्ड लर्निङः थोरै पढाइ अनि धेरै सिकाइ
–बटुकलाल तमाङ, अन्नपूर्णा मा.वि. पार्वतीपुर, चितवन

    हिजो चैत्र १३गते शुक्रवार कक्षा १०क का विद्यार्थीहरुसँग अंग्रेजी भाषा शिक्षण सिकाइ क्रियाकलापमा अन्य दिनहरु भन्दा अलिक फरक ढंगले संलग्न भइयो । Project Based Learning: Less Teaching and More Learning भनी प्रोजेक्ट बेस्ड लर्निङकोबारेमा सन् २०१३ अक्टोबरमा युनिभर्सिटी अफ ओरेगन, युएसएबाट १० हप्ते अनलाइन टीचर ट्रेनिङ कोर्शमा र सन् २०१७मा टी प्रोग्राम अन्तर्गत ७ हप्ते अन्तर्राष्ट्रिय शिक्षक तालिममा बाउलिङ ग्रीन स्टेट युनिभर्सिटी ओहायो, अमेरिकामा जानकारी तथा अभ्यास गर्न पाएको थिएँ । दुवै कोर्शहरूकोलागि छात्रवृत्ति अमेरिकी राजदुतावास काठमाण्डाैंबाट प्राप्त गरेको थिएँ ।

१)   ६ समूहको प्रश्नावली तयार गरी सबै विद्यार्थीलाई एक एक प्रति पुग्ने गरी प्रिन्ट गरियो । कक्षा कोठामा उक्त प्रश्नावली वितरण गरी अध्ययन गर्न लगाइयो । र एक आपासमा विद्यार्थी र किसानको भूमिकामा प्रश्न सोध्ने र उत्तर दिने अभ्यास गर्न लगाइयो । प्रश्न सोध्दा पहिले अंग्रेजी भाषामा सोध्ने, अनि किसानले नबुझ्नु भएको खण्डमा नेपाली भाषामा उल्था गरी सोध्ने गरी अभ्यास गर्न लगाइयो । त्यस पछि विद्यार्थीहरुलाई ६ समूहमा विभाजन गरी किसानलाई प्रश्न सोध्ने जिम्मेवारी समूहगतरुपमा छुट्याइयो, तर जसले सोधे पनि किसानले दिनु भएको उत्तरको बुँदा टिपोट सबैले गर्नु पर्ने भनी जानकारी दिइयो । प्रश्न सोध्नु अघि, प्रश्न सोध्ने बेलामा र अन्त्यमा गर्नु पर्ने शिष्टाचारको ख्याल राख्न समेत सबै सचेत गराइयो ।

२) सबैजना विद्यार्थीहरु लिएर विद्यालयबाट ७०० मीटरको दूरीमा रहेको तरकारी उत्पादक किसान श्री पिताम्बर अर्यालको खेतमा (वहाँसँग एक दिन अगावै समय लिइएको थियो) गइयो । वहाँले तरकारी खेती गर्नु भएको पनि ३२ वर्ष पुगी सकेको जानकारी दिनु भयो । वहाँको खेतमा सबै भन्दा बढी करिब सात कट्ठा क्षेत्रफलमा घ्यु (मानन्धर) सिमी लगाउनु भएको रहेछ । अन्य तरकारीहरु खुर्सानी, चुच्चे करेला, लौका, मुला, करेला आदि लगाउनु भएको रहेछ । विद्यार्थीहरुले वहाँसँग भलाकुसारी गर्दै पालैपालो प्रश्न सोधे र वहाँको उत्तरहरु सबैले टिपोट गरे । त्यसपछि वहाँले हामीलाई वहाँको तरकारी बारीको भ्रमण गराउनु भयो र ती तरकारीहरुको बारेमा थप जानकारीहरु समेत दिनु भयो । जिज्ञासु विद्यार्थीहरु मैले दिएको भन्दा थुप्रै प्रश्नहरु सोध्न तँछाड र मछाड गरि रहेका थिए भने म चाहि ती दृश्यहरु हेरी रमाइ रहेको थिएँ । शायद यही होला “थोरै पढाइ अनि धेरै सिकाइ” भनेको ।

३) तरकारी बारी भ्रमण सकिएपछि वहाँसँग विदा मागी विद्यालय फर्कियौं । विद्यार्थीहरु निकै खुसी र उत्साहित देखिन्थे । तीन दिन पछि सबैजनाले यस भ्रमणको रिपोर्ट (अंग्रेजीमा) असाइनमेन्ट पेश गर्नेछ । ती रिपोर्टहरु सबै स्क्यान गरी अनलाइन ब्लगमा प्रकाशन गर्ने योजना बनाइरहेको छु । आजको शुक्रवार साँच्चै रमाइलो भयो ।

यस शिक्षण सिकाइ क्रियाकलापको विशिष्ट उद्देश्यहरु यस प्रकार राखेको थिएँ ।

क) अंग्रेजी भाषामा प्रतिवेदन लेखन सीपको विकास गर्न ।

ख)   समाजका अन्य व्यक्तिसँग उचित ढंगले कुराकानी गर्ने सीपको विकास गर्न ।

ग)   समाजमा घुलमिल हुन सक्ने सीपको विकास गर्न ।

घ)   तरकारी उत्पादनबारे वास्तविक तरिका र सीपको जानकारी प्राप्त गर्न ।















प्राेजेक्ट बेस्ड लर्निङः थोरै पढाइ अनि धेरै सिकाइ प्राेजेक्ट बेस्ड लर्निङः थोरै पढाइ अनि धेरै सिकाइ Reviewed by Batuk Lal Tamang on March 27, 2021 Rating: 5

No comments:

ads 728x90 B
Theme images by konradlew. Powered by Blogger.